विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा विदेशी सेना रहेको आफूले सुनेको भन्दै स्पष्ट पार्न माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे ।

‘विदेशी सेना नेपालमा छन् भन्ने मैले भर्खरै पहिलो चोटी सुनेँ । त्यो हो भने गम्भीर कुरा हो । कहाँ छन्। कुन कुन देशका छन् । कुन क्याम्पमा राखिएको छ । त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ । सरकारको ध्यानाकर्षण गराउनुपर्छ’, उनले भने ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्नेसमेत बताए ।

अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए । उनले परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने स्पष्ट पारे ।