युट्युबमा अब नयाँ फिचर, अपलोड भइसकेको भिडिओ सम्पादन गर्न मिल्ने

काठमाडाैं । युट्युबले प्रयोगकर्ताहरूको सहजीकरणका लागि नयाँ फिचर थपेको छ । युट्युबले अपलोड गरिसकेको भिडिओ सम्पादन गर्न मिल्ने ‘करेक्सन’ फिचर सार्वजनिक गरेको हो ।

अमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार यो नयाँ फिचरको प्रयोगमा प्रयोगकर्ताहरूले अपलोड गरिसकेको भिडिओलाई डिलिट नगरी त्यसमा कुनै गल्ती भए सम्पादन गर्न सक्नेछन् ।

यसभन्दा अघि युट्युबमा एकपटक अपलोड भएको भिडिओ सम्पादन गर्न मिल्दैनथ्यो । भिडिओमा केही गल्ती भएमा प्रयोगकर्ताले आफ्नो भिडिओ डिलिट गरेर, गल्ती सम्पादन गरेर पुनः अपलोड गर्नुपर्ने हुन्थ्यो ।

यसो गर्दा प्रयोगकर्ताहरूको लाइक र कमेन्टहरू गुम्थ्यो । अथवा भिडिओ डिलिट नगरी भिडिओमा भएको गल्तीलाई त्यसको डिस्क्रिप्सनमा लेख्न सकिन्थ्यो । यसो हुँदा पनि प्रायः अन्य स्रोताले ख्याल गरिरहेका हुँदैनन् ।

युट्युबको नयाँ फिचरमा भने अब भिडिओ डिलिट नगरी त्यसैमा सम्पादन गर्न सकिन्छ । अर्थात्, पोस्ट भइसकेको भिडिओको गल्ती सच्याउन सकिन्छ । द भर्जका अनुसार भिडिओमा सच्चाइएको कुरालाई भिडिओको छेउमा हुने ‘इन्फोकार्ड’ बक्समा देखाइनेछ ।