प्रचण्ड बाबुरामकाे एजेण्डा बाेकेर आएकाे रवि लामिछानेकाे पार्टी सफल हुँदैन : प्रा.डा रामप्रसाद उप्रेती

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राप्रपा स्वास्थ विभाग प्रमुख प्रा.डा रामप्रसाद उप्रेतीले रवि लामिछानेले स्वतन्त्र उम्मेदवारकाे क्रेज बढेपछि त्यही जनमत लिन खाेजेकाे आराेप लगाएका छन् ।

उनले यसअघि असफल भइसकेका रविन्द्र मिश्रजस्तै हालत रवि लामिछानेकाे पनि हुने जिकीर गरे । देशले धान्न नसक्ने संघीयतालाई मलजल गर्ने गरी निर्मित पार्टीकाे अस्तित्व खतरामा रहेकाे तर्क पनि गरे ।

हुलाक सञ्चारसँग संक्षिप्त कुराकानी गर्दै उप्रेतीले भने, ‘रवि लामिछाने पनि नेपालकाे पहिचान मास्न पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईकै जस्ताे एजेण्डा बाेकेर आए । उनी सफल हुन सक्दैनन् । अन्तत: अहिले रविन्द्र मिश्रकै जस्ताे हालत हुनेछ ।’

उनले रवि लामिछानेकाे पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको क्रेज घटाउन देशी विदेशी शक्ति चलखेलको परिणाम भएकाे जिकीरसमेत गरे ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेले मंगलबार नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।

राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनकाे भनाइ रहेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१