काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ओमप्रकाश पुनसहित चार नेताले सामूहिक राजीनामा दिएका छन् ।
नेता पुनसँगै केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरेका हुन् ।
बदलिदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको राजीनामा दिएका नेताको संयुक्त वक्तव्यमा उल्लेख छ ।
उनीहरुले भनेका छन् ‘नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्दै व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महसुस गरी त्यसैको प्रयासस्वरूप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं ।’