काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिष्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताए।
उनले यदी सरकारले विप्लव लगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको हो भने सरकारले त्यसबाट तत्काल पछि हटेर पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरे ।
उनले भने, ‘हालै सरकारले नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीको लागि पत्र पठाएको हामीले सुन्यौँ। सञ्चारमाध्यमबाट आएको यो समाचार सत्य हो भने कुनै बेला हिंसाको बाटो रोजेको र तन्केर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले ३ बुँदे सहमति गरेर हिंसाबाट शान्तिपूर्ण बाटोमा ल्याएको थियो। त्यसपछि नेपाली जनताले शान्तिका साथ बाच्न पाइन्छ भनर अनुभुति गरिरहेका बेला फेरि यो सरकार स्वभाविक छ कि, संविधानतः सरकार अविछिन्न छ। यदी सरकारले पक्राउ गर्न आदेश दिएको हो भने प्रतिपक्ष दलका हैसियतले म सरकार यो कामबाट तत्काल पछि हट्न र पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराउँछु।’