काठमाडाैं । गठबन्धनमा रहेको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले कार्यदलको बिहीबारकाे बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट दाबी गर्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि सोही अनुसार प्रस्ताव लैजाने सहमति भएको समाजवादीका एक नेताले बताए । ती नेताका अनुसार प्रत्यक्ष निर्वाचित सांसद, स्थानीय तहमा निर्वाचित भएको पालिका र व्यक्तित्वको आधारमा सिट बाँडफाँड गर्नुपर्ने पार्टीको प्रस्ताव हुनेछ ।
बुधबार बसेको सचिवालय बैठकले उम्मेदवारीको मापदण्ड र छनोट विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदलका सदस्यसमेत रहेका बेदुराम भुसाल र प्रमेश हमाललाई दिएको थियो ।
सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक बिहीबार बस्न लागेकाे छ ।