काठमाडाैं । आगामी निर्वाचन नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णयमा पुगेका बाबुराम भट्टराईले प्रचण्डसँग आगामी योजनाका बारेमा छलफल गरेका छन् ।
माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा समाजवादी पार्टीका अध्यक्ष भट्टराई अर्का अध्यक्ष महेन्द्रराय यादव छलफलका लागि पुगेका थिए । आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिट, घोषणापत्र र निर्वाचनको तयारीबारे नेताहरुबीच छलफल भएको थियो ।
छलफलपछि भट्टराईले अग्रगामी परिवर्तनका एजेण्डालाई स्थापीत गर्न संयुक्त रुपमा निर्वाचन लड्न लागेको बताए । उनले आफूहरु गठबन्धनभित्रकाे अंग भएकाले मापदण्डका आधारमा सिट बाँडफाँट हुने दावी गरे । भट्टराईले तत्काल चूनावी तालमेल हुने र आगामी दिनमा बृहत राजनीतिक शक्तिहरुको ध्रुविकरण गरेर अघि बढ्ने लक्ष्य रहेको बताए ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई अझै पनि गठबन्धनभित्रै रहेको बताए ।
सिटका विषयमा गठबन्धनमा रहेका दलहरुसँग छलफल बढेर अघि बढ्ने उनकाे भनाइ छ । उनले बाबुराम र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ रहेको र यसलाई कसैले रोकेर नरोकिने जिकीर गरे । प्रचण्डले चुनावपछि पार्टी एकताको बाटोमा अघि बढ्ने र एकीकृत समाजवादीसँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारीमा रहेको जानकारी दिए ।
यसअघि मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो भने दुवै दलले निर्वाचन आयोगमा संयुक्त रुपमा निवेदन समेत दिएका छन् ।