सामाजिक सञ्जालमा आफ्नाे चरित्र हत्या भएकाे भन्दै कानुनी कारबाहीमा जाने महेश बस्नेतकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सासंद महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा आफू नभएको भन्दै बस्नेतले गलत भिडिओ हालेर चरित्र हत्या गरिएको बताएका हुन् ।

मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बस्नेत अफवाह फैलाएर आफ्नो चरित्र हत्या गर्नेहरूविरूद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने जानकारी दिएका छन् ।

अहिले फेसबुकमा सेयर भइरहेको भिडिओ गत स्थानीय चुनावका क्रममा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै अमान सिंह तामाङ र सापकोटा पक्षका कार्यकर्ताबीच भएको विवादको भिडिओ भएको बस्नेतले उल्लेख गरेका छन् ।

उक्त विवादको भिडिओलाई माओवादी केन्द्रका केही व्यक्तिहरूले महेश बस्नेतलाई कुटपिट गरेको भन्दै गरेको झुटो प्रचार गरेको भन्दै बस्नेतले आपत्ति जनाएका छन् ।