काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार लिम्बू आज विवाह बन्धनमा बाँधिने भएका छन् ।
उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । उनीहरूको विवाह आज आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो ।
यसअघि उनीहरूले सोमबार मेहेन्दी कार्यक्रम गरेका थिए । गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए ।
माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए ।
उनी आवद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए । त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औँठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए ।
कञ्चन पेशाले एयरहोस्टेस हुन् । केही वर्षदेखि प्रेममा रहेका उनीहरूको आज विवाह हुन लागेकाे हाे ।