सिट बाँडफाडमा कांग्रेस लचक, अब जुट्ला सहमति ?

काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचक भएको छ ।

बिहीबार बिहान ११ बजेदेखि बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दाबी गरेको सय सिटबाट कांग्रेस तल झरेको एक नेताले बताए ।

ती नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ ।

यसअघि प्रतिनिधसभातर्फ कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा(एकीकृत समाजवादी) ले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।

सय सिटभन्दा कम लिँदा पार्टीभित्र व्यवस्थापन गर्न चुनौती हुने कांग्रेसको भनाइ थियाे । योभन्दा कम सिट लिएर चुनावमा जाँदा ठाउँठाउँमा विद्रोह र बागी उम्मेदवारी हुने कांग्रेसको तर्क छ ।

सिट बाँडफाँटका लागि कार्यदल सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरू आफैँ कस्सिएका छन् । बिहीबार शीर्ष नेतासहित बसेको बैठमा कसले कति सिट लिने विषयमा छलफल भएको छ ।

शीर्ष नेताहरूको छलफलमा कांग्रेस गठबन्धन दलभित्र सहमति जुटाउन लचक हुन तयार भएको छ । यसअघि दाबी गर्दै आएको सय सिटबाट झरेर ९० सिट लिन कांग्रेस तयार भएको हाे ।

कांग्रेस ९० सिटमा झर्न तयार हुँदा घटक अन्य दलले भने ८५ सिट लिन दबाब दिइरहेका छन् ।

कांग्रेस लचक भएअनुसार ९० सिट पाउँदा बाँकी रहेका ७५ सिटमा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच सिटको भागबन्डा हुनेछ ।

पछिल्लो समय बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीले पनि माओवादी केन्द्रकै चुनाव चिह्न लिएर निर्वाचनमा जाने बताएको छ ।

त्यसो हुँदा कांग्रेसले पाउनेबाहेकका सिटमा यी दुई दललाई पनि मिलाउनुपर्ने हुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी पनि सत्ता गठबन्धनसँग तालमेल गरेर चुनाव लड्न चाहिरहेको छ ।