संविधान विपरित राष्ट्रपतिद्वारा प्रमाणीकरण भएन नागरिकता विधेयक

नागरिकता विधेयक प्रमाणीकरणको समय सकिएको छ । मंगलबाल राति १२ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेपछि १५ दिनको निर्धारित समय सकिएको हो ।

संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने थियो । तर, उनले प्रमाणीकरण नगरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।”उहाँले प्रमाणीकरण गर्नुभएन । उहाँले जे कुरा औँल्याउनुभएको थियो, त्यसैमा नै उहाँ कायम रहनुभयो,” उनले भने ।

नागरिकता विधेयक दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएर भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता थियो । तर, उनले सर्वोच्च अदालतमा रिट परेको कारण देखाएर विधेयक प्रमाणीकरण नगरेकी हुन् ।

पहिलोपटक दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति भण्डारीले सन्देशसहित पुनर्विचारका लागि संसद्मा नै फिर्ता पठाइदिएकी थिइन् । तर, दुवै सदनले राष्ट्रपतिको सन्देशमा कुनै सुनुवाइ नगर्दै विधेयक पुरानै अवस्थामा हुबहु पारित गरेका थिए ।

त्यसपछि राष्ट्रपतिले असन्तुष्टि जनाएकी थिइन् । यसबारे उनले सबै राजनीतिक दलसँग छलफलसमेत गरेकी थिइन् ।