काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ ।
बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।
यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं-१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।
२०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए ।
मिश्रले प्रकाशोन्मुख पुस्तक ‘विचार भन्दा माथि देश’ मा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुन:स्थापना हुनुपर्ने बताएका छन् । मिश्रले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।