
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हालै एकता गरेका नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि पार्टीभित्र द्वन्द्व र विवाद गर्न नहुने सिकाइ भएको उनले संकेत गरेका थिए ।
क्यानडा, अमेरिका लगायत देशका नेताहरूको उदाहरण दिँदै उनले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताएका थिए । ‘हामी पार्टीमा बखेडा झिक्दैनौँ । मैले पछिल्लो पाँच वर्ष आफैंले स्थापना गरेको पार्टीबाट पनि अनुभव लिएँ । जहिले पनि विवाद र द्वन्द्व झिकिरहँदा नेतृत्वले काम सक्दैन,’ नेता मिश्रले भने ।
विवेकशील साझा पार्टीबाट निस्किएका नेता तथा कार्यकर्ताहरू र राप्रपाबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताएका हुन् । यस क्रममा उनले राप्रपामा रहन पाउँदा गौरव महसुस भएको पनि बताए ।
मिश्रले नेपाल पछिल्लो समय भूराजनीतिक केन्द्रमा रहेको र विदेशी हस्तक्षेप बढेको बताएका दाबी गरेका छन् । जसकारण यहाँ द्वन्द्व सिर्जना हुने संकेत देखिएको पनि उनले दाबी गरे । नेपाल कमजोर भएकैले विदेशीहरूले ‘ल्यान्ड पावर’ भन्ने गरेको उनको भनाइ थियो ।
मिश्रले नेपालको पछिल्लो राजनीति विकृत बन्नुको पछाडि ‘वामवाद’ र धर्मान्तरको प्रमुख भूमिका रहेको आरोप लगाएका थिए । ‘वामवाद’ले गर्दा सौहार्दपूर्ण रुपमा बसेको समाजलाई विकृत बनाएको र जातजातिलाई विभाजित गर्ने काम गरेको पनि उनले आरोप लगाए ।
कांग्रेसका केही नेताले आफूमा विचलन आएको बताएको भन्दै मिश्रले उल्टै प्रश्न पनि गरे ।
उनले भने, ‘केही कांग्रेसका साथीहरुले मलाई लक्षित गरेर भने विचलन आयो । कांग्रेसमा धेरै विचलन आयो कि ममा ? २०५२ सालमा माओवादीले बन्दुक उठाउँदा कांग्रेस सरकारमा थियो कि हामी ? बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सपना मारेर कसले विचलन ल्याएको ?’
उनले कांग्रेसको त्यो आदर्श अब राप्रपाले बोक्ने बताउँदै राष्ट्रिय मेलमिलापको नीति आफूले बोकेको बताए । उनले थपे, ‘बीपीले भनेको सही रहेछ भनेर हामीले बुझ्दैछौं। मेरो राजासँग न लेना न देना । देशका लागि राजनीति गर्ने हो । ३० वर्षपछि सोचेर राजनीति गर्नुपर्छ। त्यसरी सोच्दा संवैधानिक राजा चाहिन्छ ।’
मिश्रले अब संवैधानिक राजतन्त्रको स्थापना, धर्म निरपेक्षता र संघीयताको खारेजी चुनावी अजेन्डा हुने पनि बताए । आफूहरुले नरम सम्बर्द्धनवादीलाई अघि बढाउने उनले बताए ।
बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा शंख-घण्ट बजाउँदै राप्रपा र मिश्र समूहबीच एकता भएको छ । विवेकशील साझा पार्टी बाट राजीनामा दिएपछि मिश्रले आफू निकट समूहलाई राप्रपासँग एकता गराएका हुन् ।
बुधबार एकता घोषणा सभाबाट मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ ।