प्याराग्लाइडिङ तयारी खेलको नतिजा नै आधिकारिक, आर्मी र गण्डकीलाई ३/३ स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको तयारी उडानको नतिजालाई नै आधिकारिक मानेर पुरस्कार वितरण गर्न थालिएको हो ।

संघका अनुसार टिम तथा एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान ३/३ स्वर्ण जितेका छन् । यस अन्तर्गत क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कूल २७५० अंकसहित स्वर्ण पदक हात पारेको हो ।

विभागीय टिम नेपाल आर्मी क्लबले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कूल २५५५.९ अंकसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । सोही टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।

त्यस्तै, बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ । कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए । उनीहरुले कुल २१४८.३ अंक प्राप्त गरेको संघले जनाएको छ ।

प्याराग्लाइडिङ प्रतियोगिताका मुख्य निरीक्षक योगेश भट्टराईका अनुसार खेलकै क्रममा दुर्घटनामा मृत्यु भएका निसिम थापाको सम्मानमा मानार्थ स्वर्ण पदक दिइने भएको छ । गोरखा स्थायी घर भई हाल पोखरा–१० मा बस्दै आएका थापाको घरमै पुगेर पदक हस्तान्तरण गरिने उनले जानकारी दिए ।

व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण

क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीका सुरुज थापाले कुल १ सय अंकसहित स्वर्ण पदक हात पारेका हुन् ।

सोही स्पर्धामा गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पारेका छन् । उनले कुल ९४८.६ अंक हात पारेका थिए । त्यस्तै, बागमतीका कृष्णबहादुर सुनुवारले कांस्य पदक जितेका छन् । उनले कुल ९२५.६ अंक प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए ।

प्याराग्लाइडिङ एक्युरेसी पुरुषतर्फ गण्डकीलाई स्वर्ण

प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ । गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुमन थापा, सागर नेपाली, रिखी पोडे र नुरन थापाको टिमले कुल २३ अंकसहित स्वर्णपदक हात पारेका हुन् ।

त्यस्तै, विभागीय टिम एपीएफले अक्युरेसी टिम पुरुषतर्फ रजत पदक हात पारेको छ । संघका अनुसार पूर्वतयारी खेलमा अञ्जन कुँवर, रवीन्द्र ढकाल, विष्णु कार्की र अमन थापाको समूहले कूल ४० अंक प्राप्त गरेको थियो ।

सोही स्पर्धामा प्रदेश १ ले कांस्य पदक जितेको छ । प्रदेश नं. १ का रोशन बस्नेत, युवराज सुनुवार, दिलकुमार सुनुवार र विश्वास गुरुङको समूहले सामूहिक ४९ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन् ।

प्याराग्लाइडिङ एक्युरेसी पुरुष व्यक्तिगततर्फ गण्डकी पहिलो

अक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ । गण्डकीका खेलाडी सुमन थापाले स्वर्ण, एपीएफका अञ्जन कुँवर रजत र नेपाल आर्मीका विष्णु तिमिल्सिनाले कांस्य पदक जितेका हुन् ।

व्यक्तिगत अक्युरेसीमा गण्डकीका थापा र विभागीय टिम नेपाल आर्मीका कुँवरले समान ३, ३ अंक ल्याएका थिए । दुवैको अंक बराबर भएपछि गोलाप्रथाबाट सुमनले स्वर्ण जितेको संघले जनाएको छ ।

प्याराग्लाडिङ टिम एक्युरेसी महिलामा आर्मी च्याम्पियन

महिला टिम अक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीका मुनामाया जिटी, दुर्गामाया गुरुङ र स्वस्तिका गुरुङको समूहले ४० अंकसहित राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हात पारेका छन् ।

रजत पदक हात पारेको गण्डकीको महिला एक्युरेसी टिमले कुल ११३ अंक ल्याएको थियो । गण्डकीको टिममा ऋतु श्रेष्ठ, कृष्णु पौडेल र शर्मिला शर्मा सहभागी थिए ।

त्यस्तै, सोही स्पर्धामा रजत पदक प्रदेश नं. १ ले हात पारेको छ । प्रदेश १ का देवकी सुनुवार, अनुष्का सुनुवार, इश्का राईले ८९० अंक प्राप्त गरेको संघले जनाएको छ ।