राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांंग्रेस र माओवादी लगायतका ठूला पार्टीहरुले मधेशी जनताको शोषण मात्रै गर्दै आएको दाबी गरेका छन् । अन्य दलले मधेशलाई भोट बैंक बनाएर शोषण मात्रै गरेकोले जसपा नेपालले मधेशलाई मुक्ति दिलाउने प्रतिबद्दता जाहेर गरेका छन् ।
सप्तरीको महदेबा गाउँपालिका स्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेशका जनताले आफ्नो अमूल्य मतको सही सदुपयोग गर्ने बताए ।
शोषित उत्पीडित जनताको हकअधिकार स्थापित गराउन आफुहरु अझैं संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भने ‘कांग्रेस लगायतका ठूला भनाउँदा पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको छन्, शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो ।’
पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफुहरु पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन एवम् विभेदमा पारिएको समुदायका लागि अझैं संघर्षरत रहेको चर्चा गरे । अबको वैकल्पिक शक्तिको रुपमा जसपा नेपाल मात्र रहेकोले आउने निर्वाचनमा जनताले मतदान गरेरै आफ्नो अभिमत जाहेर गर्ने उनले विश्वास व्यक्त गरे ।