सयपत्री प्रतिथुंगा ४ रुपैयाँ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन्। तिहारका समयमा उनलाई मागअनुसारको फूल पुर्‍याउन धौधौ भयो। परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उनमा त्यही बेला अब व्यावसायिक रूपमा फूलखेती गर्छु भन्ने सोच पलायो।

‘गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्‍याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ’, उनले भनिन्, ‘माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु।’

उनले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिक रूपमा सयपत्री फूलखेती गरेकी छन्। विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन्।

‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो’, उनले भनिन्, ‘फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ।’

फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ। ‘गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ’, उनले भनिन्।

तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्‍याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ। ‘तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन’, श्रेष्ठले भनिन्, ‘तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ।’

गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ। ‘यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ’, उनले भनिन्।

उनले प्रतिथुङ्गा रु ४ मा फूल बिक्री गरिरहेकी छन्। फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेको उनले सुनाइन्। ‘मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचारप्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिदिएको छ’, उनले भनिन्।

सरकारले केही दिनअगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ। तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ।

सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भनिन्, ‘विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ। नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ।’

भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिक रूपमा फूलखेती लगाएका छन्। तिहार नजिकिँदै गरेको ७० प्रतिशत मात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताए।

विकले भने, ‘बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्‍याउनुपर्छ।’

वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लागेका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताए। फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताए।

सोही ठाउँका गोविन्द अधिकारीले केही वर्षदेखि फूलखेती गरिरहेका छन्। स्थानीय स्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या भइरहेको उनको गुनासो छ। तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या भइरहेको उनी बताउँछन्। रासस