
डा. प्रणयशम्शेर राणा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं ५ का उम्मेदवार हुन् । द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर राणासंग नीति निर्माणमा काम गरेको २० वर्ष भन्दा लामो अनुभव छ ।
नेपाली सेनाबाट अवकाश प्राप्त गरेपछि उनी देश निर्माणमा समर्पित हुने भन्दै राजनीतिमा होमिएका हुन् । मुलुक कोरोना संक्रमणको चपेटमा परेकाबेला व्यक्तिगत प्रयासमा उनले सर्वसाधारणको जीवन रक्षा गर्न उदाहरणीय काम गरेका थिए ।
आफनै श्रोत साधनमा हजारौंको जीवन रक्षा गर्न सफल राणा भन्छन्, ‘ मेरा प्रतिष्पर्धी एमाले उम्मेदवार ईश्वर पोखरेल ‘सीसीएमसी’ को प्रमुख थिए । उनले के काम गरे ? उनलाई पछि त्यहाँबाट किन हटाइयो ? पोखरेल रक्षा मन्त्री भएकाबेला स्वास्थ्य सामग्री ल्याउने कुरामा अनियमितता भएको हो कि होइन ? उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा किन ताने ? यी प्रश्नको उत्तर खोजे पोखरेललाई किन भोट दिनु हुँदैन भन्ने कुरा प्रष्ट हुन्छ । ’
सत्ता गठवन्धनकोतर्फबाट आएका कांग्रेस उम्मेदवार प्रदीप पौडेल स्थानीय व्यक्ति नभएको र उनको काठमाडौं ५ को विकासमा हालसम्म कुनै योगदान नभएको उनको आरोप छ ।
डा. राणाले हालसम्मका जनप्रतिनिधि नीति निर्माणका लागि योग्य हुन नसकेकैकारण मुलुकको यो हालत भएको बताउँछन् । उनले भोट माग्न आउने उम्मेदवारको ट्रयाक रेकर्ड, नीति निर्माणको अनुभव र चुनाव हारेपछिको योजनाबारे मतदाताले प्रश्न गर्नुपर्ने बताए ।
आफनो पार्टीका अध्यक्ष रवि लामिछाने देशप्रति इमान्दार भएकाले उनका व्यक्तिगत घटना उछालेर विवादमा ल्याउन आवश्यक नभएको उनको भनाइ छ ।
विस्तृत भिडिओमा :