काठमाडाैं । भारत सरकारले नेपाललाई निर्वाचनका लागि २०० ओटा सवारी साधन उपहारस्वरुप प्रदान गरेकाे छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका हुन् ।
यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतकाे विश्वास छ ।
नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुग्नेछ ।
अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए ।
नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।