
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य आलोक रायमाझीले आफनो पार्टीले प्रत्यक्षतर्फ कम्तिमा १८ सिट र समानुपातिकमा १५ लाख मत ल्याउने दाबी गरेकाछन् ।
हुलाक सञ्चारसँग कुरा गर्दै नेता रायमाझीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले समाजवादी राष्ट्रिय पार्टी हुन नसक्ने भनी फैलाएको हल्ला पराजित मानसिकताको चिच्याहट मात्र भएको टिप्पणी गरे ।
रायमाझी भन्छन्, ‘स्थानीय तहको निर्वाचनकाबेला हामीले भर्खर पार्टी बनाएका थियौं । त्यो बेला त हामीले उल्लेख्य मत ल्यायौं । अहिले त हाम्रो देशभर राम्रो तयारी छ । संगठन बनाएका छौं, गठवन्धन बनाएका छौँ । कम्तिमा पनि प्रत्यक्षमा १८ सिट ल्याउँछौँ । समानुपातिकमा १५ लाख भन्दा बढी मत आउँछ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजसंस्था व्युँताउने खेलमा लागेको रायमाझीको दाबी छ । राप्रपा र एमालेमा भिन्नता देखिन छाडेको भन्दै उनले पार्टी नेकपा एमाले नभएर नेकपा ओलीमा रुपान्तरण भएको कटाक्ष गरे ।
आउँदो चुनावमा एमाले दश सिट मुनी खुम्चिने र समानुपातिकमा पनि आधा मत घट्ने रायमाझी बताउँछन् । ढाँटछल र स्टन्टको राजनीति उदांगो भएपछि अहिले फेरि ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सन्दर्भ उठाएर आफूलाई राष्ट्रवादी बनाउन खोजेका छन् । नेपाली जनताले सबै नाटक बुझिसकेकाले आउँदो चुनावबाट एमालेसहित राप्रपापनि बढारिने रायमाझी बताउँछन् ।
सत्ता गठवन्धनमा भावी प्रधानमन्त्रीका विषयमा कुनै छलफल नभएकाले गठवन्धन भित्रका नेताहरुले प्रधानमन्त्रीमा दाबी गर्नु लोकतान्त्रिक चरित्र मात्र हो । यसले गठबन्धनमा कुनै समस्या हुँदैन । देउवा, प्रचण्ड जस्तै माधव नेपाल पनि प्रधानमन्त्रीका स्वतः दाबेदार हुन् ।
विस्तृत भिडिओमा :