हाम्रो पार्टीको सरकार बन्यो भने वृद्धभत्ता ५ हजार पुर्‍याउँछौँ : माधव नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेको खण्डमा वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन् ।

केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘अरुले नगरेको काम हामीले गरेका हौं । बुढापाकालाई हामीले पेन्सन दिन सुरु गर्‍यौं । १ सय रुपैंयाबाट सुरु गरेको पेन्सन अहिले ४ हजार पुगिसकेकाे छ । भोलि हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउँछौँ भनेर भनिरहेका छौँ, यो हाम्रो वचन हो ।’

उनले इमानदारिताको भावना भएपछि जनताले विश्वास गर्ने बताए ।

उनले कम्युनिस्ट पार्टीलाई नै जनताले मन पराउने गरेकाे दाबी पनि गरे । राजनीतिमा उकाली र ओराली सामान्य भएको टिप्पणीसहित उनले भने, ‘नेपालको राजनीतिमा उकाली र ओराली भनेको सामान्य कुरा रहेछ । यो कम्युनिस्ट पार्टी र अन्य पार्टीलाई पनि लागु भएको छ ।’

जतिसुकै विभाजित भए पनि, जतिसुकै पार्टी परित्याग गरे पनि कम्युनिस्ट पार्टी नै नागरिककाे राेजाइ रहने उनकाे विश्वास छ ।