टी–२० विश्वकप : भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा, यस्ताे छ इतिहास

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा विहीबार भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

भारत सुपर–१२ समूह २ को विजेता र इङ्ल्यान्ड समूह १ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

यस्तै, इङ्ल्याण्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्याण्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो ।

यसअघि अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए । त्यो बेला भारतले सहज जित दर्ता गरेको थियो ।

भारत र इंल्याण्डबीच अहिलेसम्म २२ वटा टी-२० खेल भएकोमा भारतले १२ वटा र इंग्ल्याण्डले १० वटा खेल जितेका छन् ।

विश्वकपमा भने दुई देशबीच ३ वटा खेल भएकोमा भारतले २ वटा र इंल्याण्डले एउटा खेल जितेको छ । सन् २००७ र २०१२ को विश्वकपमा भारत र २००९ मा इंग्ल्याण्डले भारतलाई हराएको थियो । भारत र इंग्ल्याण्डबीच भएका पछिल्ला पाँच वटा खेलमा भारतले तीन वटा खेल जितेको छ ।

अहिलेसम्म भारत र इंग्ल्याण्डले एक–एक पटक टी-२० विश्वकपको उपाधि जितेका छन् । भारतले सन् २००७ को विश्वकप र इंग्ल्याण्डले सन् २०१० को विश्वकप जितेका थिए ।

यस्तै, सन् २०१४ को फाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो भने सन् २०१६ को फाइनलमा इंग्ल्याण्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

भारत र इंग्ल्याण्डबीचको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराएर पाकिस्तान उपाधि नजिक पुगिसकेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१