हामीमाथि पूर्वाग्रह राखेर मतपत्र मिसमास पारियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मोरङ ३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा भएको निर्वाचन केन्द्रमा मतपत्र मिसमास पारिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले आफूहरुमाथि नै पूर्वाग्रह राखेर मतपत्र मिसमास पारिएको आशंका गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘घण्टी चिन्ह भएको समानुपातिकको मतपत्रमा नै एकै किसिमको त्रुटी हुनु मानवीय मात्र नभएर सुनियोजित हो कि भन्ने हामीलाई शंका छ ।’

यस्ताे छ उनकाे भनाइ

आजको निर्वाचनमा ४ वटा मतपत्र पाइन्छन् । त्यसमा क्रम हेर्ने हो भने पहिलो प्रतिनिधीसभाको प्रत्यक्षको मतपत्र हुन्छ, दोस्रो मतपत्र प्रतिनिधीसभाको समानुपातिकको हुन्छ, तेस्रो प्रदेशसभाको प्रत्यक्षको र चौथो प्रदेशसभाको समानुपातिकको हुन्छ । र, यहि हुनु पर्छ । तर यस्तो भएन ।

आज मोरङ निर्वाचन क्षेत्र ३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा भएको निर्वाचन केन्द्रमा मिसमास गरिएको भेटियो । प्रतिनिधीसभाको समानुपातिक तर्फको मतपत्रमा प्रदेशको मतपत्र मिसाइएको पाइयो । यो पत्ता लागे पछि मतदान रोकिएको थियो । तर हामीले यो मानवीय त्रुटी मात्रै भएको मानेर पछि गणना हुने गरि भन्ने सर्वदलीय सहमति पछि निर्वाचन सुचारु गरियो ।

तर यस्तै प्रकृतिका त्रुटी भएका अन्यत्रबाट पनि त्यसपछि खबरहरु प्राप्त भइरहेका छन् । घण्टी चिन्ह भएको समानुपातिकको मतपत्रमा नै एकै किसिमको त्रुटी हुनु मानवीय मात्र नभएर सुनियोजित हो कि भन्ने हामीलाई शंका छ । यसैले सम्पुर्ण सरोकारवालाहरुले आफ्नो कर्तव्यमा कुनै पनि आग्रह पुर्वाग्रह र स्वार्थ मिसिन नदिन हुन अनुरोध गर्दै मतदाताहरुले प्रतिनिधीसभाको समानुपातिकमा घण्टी चिन्ह भएको नभएको निर्क्यौल गरेर खबरदारी गरिदिनु हुन हार्दिक आग्रह गर्दछौँ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१