…जसले पार्टीलाई हराएर चुनाव जिते

काठमाडाैं । मंसिर ४ मा भएको चुनावमा प्रतिनिधि सभातर्फ अहिलेसम्म प्राप्त नतिजामा ११८ क्षेत्रमध्ये ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन् ।

बर्दिया २ मा लालवीर चौधरीले चुनाव जितेका छन् । चापाकल चुनाव चिन्ह भएका उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुरेश पन्थलाई हराएर निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएर जित्ने अर्का हुन् प्रभु साह । माओवादीका पूर्वनेता साह एमाले र माओवादी केन्द्रको एकता खारेज हुँदा एमालेतिर लागेका थिए । एमालेले यसपालि उनलाई टिकट पनि दिएको थियो तर एमालेले दिएको टिकट मनोनयन दर्ताको दिन दिनभरि होल्ड गरेर उनले अन्तिममा रौतहट-३ मा स्वतन्त्र उम्मेदवारी दिए । उनी ३२ हजार ४ सय ६७ मत ल्याएर विजयी भएका हुन् ।

अर्का उम्मेदवार हुन् रौतहट-२ का किरणकुमार साह । उनलाई प्रभु साहले नै स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । उनले पनि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका साह पराजित भएका थिए । यसपालि उनले कांग्रेसका फिरदोस आलमलाई हराएका हुन् ।

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । नेपाली कांग्रेसका नेता सिंह पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । माछा चुनाव चिन्ह भएका सिंहले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेन्द्रकुमारलाई पराजित गरेका छन् । यस क्षेत्रबाट उनले लगतार तीन पटक चुनाव जितेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएर जित्ने अर्को व्यक्ति योगन्द्र मण्डल हुन् । उनी मोरङ ५ बाट निर्वाचित भएका छन् । मण्डलले २१ हजार ८ सय २० मत पाए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत पाए ।