कतार विश्वकपमा मेस्सीकाे सफलता : चार खेल, तीन गाेल

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले राम्राे प्रदर्शन गरिरहेका छन् । उनकाे टिमले क्वार्टरफाइनलकाे यात्रा तय गरिसकेकाे छ ।

जारी प्रतियोगितामा अर्जेन्टिनाले खेलेका ४ खेलमा मेस्सीले तीन गोल गरेका छन् ।

उनी दुई खेलमा प्लेयर अफ दी म्याच पनि भइसकेका छन् । उनी गोल्डेन बल र गोल्डेन बुट दुवैको दौडमा देखिएका छन् ।

जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका फ्रान्सका केलियन एमबाप्पे र मेस्सी दुवैले ३ गोल र एक असिस्ट गरेका छन् ।

स्पेनका अल्भारो मोराटाले पनि ३ गोल र एक असिस्ट गरेका छन् । नेदरल्यान्ड्सका कोडी गाक्पो, इङ्ल्यान्डका मार्कस रासफोर्ड र इक्वेडरका इनर भ्यालेन्सियाले पनि ३/३ गोल गरेका छन् ।

मेस्सीले मेक्सिकोविरुद्ध दुई वटा विश्व कीर्तिमान बनाएका थिए । एउटै विश्वकपको एकै खेलमा गोल र असिस्ट दुवै गर्ने जेष्ठ खेलाडीको कीर्तिमान मेस्सीको नाममा बनेको थियो ।

यही खेलमार्फत उनी पाँच विश्वकपमा असिस्ट गर्ने पहिलो फुटबलर बनेका थिए । शनिबार अस्ट्रेलियाविरुद्धको खेल मेस्सीको क्लब र राष्ट्रिय टोलीका लागि एक हजार खेल थियो । उनले सिनियर क्लब र अन्तर्राष्ट्रिय फुटबलमा एक हजार खेल खेलेर ७ सय ८९ गोल गरेका छन् ।

मेस्सीले विश्वकपमा अहिलेसम्म ९ गाेल गरेका छन् । पाेर्चुगलका अर्का स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेले विश्वकपमा हालसम्म ८ गाेल गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१