दोलखामा ३० वर्षे इतिहास ‘ब्रेक’ गर्दै कांग्रेसका कुन्दराज काफ्ले विजयी

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् ।

नेकपा एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।  काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । २०५२ सालको उप—निर्वाचनमा स्व. नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनै पनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।

को हुन् काफ्ले ?

काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । काफ्ले स्ववियु सदस्य हुँदै पशुपति क्याम्पसको स्ववियु सचिव–२०५७ मा बनेका थिए ।

वि.स. २०६० सालमा पशुपति क्याम्पस स्ववियु सभापति बनेका काफ्ले लगतै अर्थात वि.स. २०६१ सालमा  नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बने । त्यसैगरी, २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले वि.स.२०७३ सालमा  नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री बनेका थिए ।

नेपाली कांग्रेस १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बने । भने काग्रेस १४ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य हुदै २०७९ को आम निवार्चनमा दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।