रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारिएको छ ।
अस्थायी मुकामका रुपमा बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचरलगायत सामानहरू रातारात दाङ पुर्याइएकाे हाे ।
स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने, त्यसमा पनि नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने रुपन्देहीका नेताहरूले माग गर्दै आएको भए पनि रातारात मन्त्रालयहरू दाङ सारिएको हो ।
यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थिए भने नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु संरचना तयार नहुँदै मन्त्रालय नसार्न आग्रह गरेका थिए ।
प्रदेश सांसदहरु लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेको थिए ।
दाङमा पूर्वाधार निर्माणकाे काम तीव्र रुपमा गरिएको छ । लुम्बिनी प्रदेशको राजधानी लेखिएको बोर्ड समेत तयार गरेर टाँगिएको छ ।