शुक्रबारदेखि काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने

काठमाडाैं । शुक्रबारदेखि काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ ।

मेलम्चीको पानी प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ ।

मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो ।

सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको छ ।

आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहनेछ ।

अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पुर्‍याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो ।