जबराको महाभियोग फुकुवाविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटमाथि शुक्रबार सुनुवाइ हुँदैछ ।

जबरासहित संघीय संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर बुधबार सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘क्लिन चिट’ दिने गरी पत्र पठाएपछि संघीय संसद सचिवालयका महासचिव गौतम विवादमा तानिएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका सत्ता गठबन्धनका सांसदहरुले गत फागुन १ गते महाअभियोग लगाएपछि निलम्बनमा रहेका जबरालाई महासचिव गौतमले सफाइ दिने गरी बुधबार पत्र पठाएका थिए ।

गौतमको पत्रपछि बुधबार जबराले सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए । जबरालाई सर्वोच्च प्रवेशमा कानुन व्यवसायीले अवरोध गरेका थिए भने सरकारले पनि उनलाई सर्वोच्चमा प्रवेश नदिन प्रहरी परिचालन गरेको थियो ।