काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनल खेलहरू सुरू हुनेछ । पहिलो दिन ब्राजिलले क्रोएसिया र नेदल्यान्ड्सले अर्जेन्टिनाको सामना गर्नेछ ।
नेपाली समयअनुसार पौने ९ बजे सुरू हुने खेलमा पाँचपटकको विजेता ब्राजिल र साबिक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुन लागेको हो ।
समूह विजेताका रूपमा नकआउट चरण पुगेको ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।
यस्तै, समूहगत चरणमा एक जित र दुई बराबरीसहित अपराजित रहेको क्रोएसियाले प्रिक्वाटरफाइनलमा जापानलाई टाइब्रेकरमा हराएको थियो ।
ब्राजिल यसअघि अन्तिमपटक सन् २०१४ को विश्वकपमा सेमिफाइनल पुगेको थियो । ब्राजिल र क्रोएसिया यसअघि अन्तिमपटक सन् २०१८ मा प्रतिस्पर्धा गरेका थिए जसमा ब्राजिल ३-१ गोलले विजयी भएको थियो ।
सन् २००६ र २०१४ को विश्वकपमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएकामा ब्राजिल दुवैमा विजयी भएको थियो । क्रोएसियाले हालसम्म ब्राजिललाई हराउन सकेको छैन ।
पौने १ बजे सुरू हुने खेलमा दुईपटकको विजेता अर्जेन्टिना र तीनपटक फाइनल पुगेर पराजित भएको नेदरल्यान्ड्स भिड्न लागेका छन् । सन् १९७८ मा नेदरल्यान्ड्सलाई नै पराजित गरेर पहिलोपटक विश्व विजेता बनेको अर्जेन्टिना सन् २०१४ मा उसैलाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो ।
यसपटक पहिलो खेलमा साउदी अरबसँग पराजित भएपनि त्यसपछि लगातार जित हात पारेर नकआउट चरण पुगेको अर्जेन्टिना अस्ट्रेलियालाई २-१ गोलले हराएर क्वाटरफाइनल आइपुगेको हो ।
समूहगत चरणमा दुई जित र एक बराबरी खेलेको नेदरल्यान्ड्सले प्रिक्वाटरफाइनलमा अमेरिकालाई ३-१ गोलले हराएको थियो ।