
काठमाडाैं । क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध भएर ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी भएरर सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
यस्तै, गएराति नै भएकाे अर्काे खेलमा नेदरल्याण्डस् लाई पेनाल्टी सुटआउटमा पराजित गरी अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक र तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाएको हो ।
कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई २–० को अवस्थामा पुर्याए । अर्जेन्टिनी खेलाडीलाई डी बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।
तर, खेलको ८३ औं मिनेटमा नेदरल्याण्डका खेलाडी ओटले गोल फर्काए । यस्तै, खेलको अन्तिम मिनेटमा फेरि उनले गोल गरेर उनले नेदरल्याण्ड्सलाई खेलमा फर्काएका थिए ।
खेलका क्रममा केहीबेर तनाव समेत भएको थियो । अर्जेन्टिनाका खेलाडीले नेदरल्याड्सका खेलाडीमाथि खतरनाक फल गरेपछि तनावको अवस्था सिर्जना भएको थियो ।
रेफ्रीले दुबैतर्फ पहेँलो कार्डको प्रयोग गर्नुपरेको थियो । खेलमा कुल १५ वटा पहेँलो कार्ड प्रयोग भएको थियो । जसमा अर्जेन्टिनाले ८ वटा र नेदरल्याड्सले ७ वटा कार्ड पाएको थियो ।
अर्जेन्टिनाले सेमिफानलमा अब क्रोएसियासँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।