
काठमाडाैं । विश्व चर्चित प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो मोरोक्कोसँगको हारपछि रुँदै बाहिरिएको दृश्य धेरैका लागि पीडादायक बन्यो । खेल सकिएको सिठी बजे लगत्तै रोनाल्डो गहभरी आँशु बोकेर एक्लै ड्रेसिङ रुम गएका थिए । उनी एक्लै थिए । उनको साथमा कोही थिएन ।
रोनाल्डो बेस्सरी रोइरहेका थिए । मैदान छोड्नुअघि उनी पीडाले मैदानमै ढलेका थिए । रोनाल्डोलाई जित निकाल्ने आत्मविश्वास थियो । उनी जितमा ढु्क्क पनि थिए । विश्वकपको ट्रफी उचाल्दै विश्वकपबाट बिदाइ हुने उनको योजना पनि थियो । तर, सबै चकनाचुर भयो ।
रोनाल्डोका लागि यो विश्वकप विर्षनलायक रह्यो । उनले विश्वकपमा कुनैपनि खेल पूरा अवधि खेल्न पाएनन् । उनलाई प्रशिक्षक सान्तोषले बेञ्चमै राखे । रोनाल्डोले जुन समय मैदानमा ओर्लिनुपर्यो त्यो उनका लागि पर्याप्त थिएन । छोटो समय त्यो पनि तनावपूर्ण अवस्थामा मैदानमा जानुपर्दा कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सक्दैन ।
प्रशिक्षक सान्तोषको पूर्वाग्रह र दम्भी व्यवहारको मार रोनाल्डोले मात्र होइन पोर्चुगल पूरै देश र संसारभरका रोनाल्डाका प्रशंसकहरुले सहनुपर्यो । रोनाल्डो फिट र उत्कृष्ट लयमा भएपनि सान्तोषले उनलाई मौका नै दिएनन् ।
लगातार बेञ्चमा बस्नुपर्दा रोनाल्डो तनावमा थिए । त्यसमा पनि उनको स्टारडमले उनलाई केह गरेर देखाउनुपर्ने दबाब थियो । एउटा खेलाडी जब मानसिकरुपमा फ्रेस छैन उसले कसरी मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सक्छ ?
यसका बावजुत रोनाल्डोले आफूले पाएका हरेक मौकामा उत्कृष्ट खेल देखाए । उनी गोलको भोको देखिन्थे तर उनलाई समय पुगेन । रोनाल्डो जस्तो खेलाडीलाई २०/२५ मिनेट मात्र खेलाएर पोर्चुगलले विश्वकप जित्ने प्रशिक्षक सान्तोषको कस्तो सोच हो ?
रोनाल्डोलाई म्यानचेष्टर युनाइटेडका प्रशिक्षकले पनि लेखेटेर खेल जीवन सिध्याउन खोजे । क्लव, व्यवस्थापक र प्रशिक्षकले जे गर्दा पनि हुने तर एउटा विश्व प्रसिद्ध खेलाडीले आफूलाई लागेको कुरा बोल्न पनि नपाउने स्थितिबाट रोनाल्डो कति दिन गुज्रिन सक्थे ?
एउटा अन्तर्वार्तामा रोनाल्डोले सीमा नाघेको आरोपमा उनलाई निशाना बनाउने काम भयो । त्यसको असर उनलाई आफ्नै देशमा पनि परेको देखियो । प्रशिक्षक सान्तोषले रोनाल्डोमाथि हेपाह व्यवहारमात्र गरेनन् यसले पोर्चुगलको फुटबल नै ध्वस्त हुने स्थिति निर्माण हुनसक्छ ।
प्रशिक्षक सान्तोषले मोरोक्कोसँगको हारपछि रोनाल्डोका बारेमा दिएको अभिव्यक्ति झनै आपत्तिजनक छ । उनले रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन् ।
सान्तोषले पत्रकार सम्मेलनमा रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका हुन् । स्विट्जरल्यान्ड विरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्याएकाले त्यहाँ परिवर्तन जरुरी नभएको उनको भनाइ छ ।
उनले रणनीतिक परिवर्तन सहज नहुने भन्दै मुटुबाट भन्दा पनि दिमागबाट चल्नु पर्ने बताए । उनले रोनाल्डो सधैं उत्कृष्ट खेलाडी नहुने भन्दै यहाँ भन्दा गर्न नसकिने समेत जवाफ दिए ।
रोनाल्डोप्रति उनले लिएको पूर्वाग्रहको विश्वभरबाट आलोचना भैरहेको छ । यति हुँदा पनि उनले पदबाट राजीनामा दिएका छैनन् । अझ पोर्चुगल फुटबल संघका अध्यक्ष सँगको छलफलपछि निर्णय लिने भनेर पन्छिन खोजिरहेका छन् ।
एक सन्की प्रशिक्षकका कारण विश्वभर लोकप्रिय चर्चित फुटबल रोनाल्डोको खेल जीवन सकिन लागेको मात्र होइन यस्ता घटनाले विश्वमै फुटबलप्रतिको आकर्षण पनि घटाउने निश्चित छ ।