
डडेल्धुरा । डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालले निर्वाचनमा ८ लाख बढी खर्च गरेको बताएका छन् ।
उनले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहँदा चुनावी गतिविधिमा ८ लाख ६७ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
सो विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएको जनाएका छन् ।
जसमा उनले डडेल्धुरामा सम्पर्क कार्यालय स्थापना र सञ्चालनमा १ लाख २४ हजार रुपैयाँ खर्च गरेका छन् ।
सो कार्यालय व्यवस्थापनमा ८० हजार ९ सय ११ रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन् । होटलमा बस्न, खानमा उनले २ लाख ७५ हजार १ सय ७ रुपैयाँ खर्च भएको बताएका छन् ।
स्टेसनरी, इन्टरनेटमा ४२ हजार १ सय ४०, भिडिओ, रेडियोमा प्रचार, छपाइ आदिमा १ लाख ११ हजार १ सय २० रुपैयाँ खर्च भएको उनको भनाइ छ ।
पेट्रोल, डिजेलमा ९० हजार ३ सय ३०, काठमाडौंदेखि डडेल्धुरा आउन यातायातमा ५४ हजार ८ सय १५, मोटरसाइकल मर्मत ५१ हजार ७ सय ८५ र अन्यमा ३७ हजार ७ सय ७० रुपैयाँ ढकालले खर्च गरेका छन् ।
ढकालले सो रकम सहयोगबापत आफूले प्राप्त गरेको भनेका छन् ।
सामाजिक सञ्जालमा ढकालले सार्वजनिक गरेको खर्च विवरणमा १ देखि १०० रुपैयाँ दिने ५०० जना रहेको बताएका छन् ।
चुनावमा खर्च नभएर बचेको बाँकी रकम पहिले भने अनुसार डडेल्धुराको लागि नै खर्च गर्ने ढकालको भनाइ छ ।