
काठमाडाैं । नेकपा एमालेले जनताको म्याण्डेट प्रतिपक्षीमा बस्ने भनेर आएको भएपनि परिआए सरकार निर्माणको पहल थाल्ने जनाएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य संजिवकुमार झा (सुरज) ले चुनावबाट प्राप्त म्याण्डेटले कुनैपनि दललाई सरकार बनाउने अधिकार प्राप्त नभएको बताए । चुनावमा कुनैपनि दलको स्पष्ट बहुमत नआएपनि गठवन्धन सरकार बनाउन कस्सिएकाले एमाले चुपचाप लागेको बताए । गठवन्धन सरकार बनाउन असफल भएको खण्डमा भने एमालेले पहल थाल्ने उनले बताए ।
हुलाक सञ्चारसँग कुरा गर्दै नेता झा भन्छन्, ‘यो गठवन्धन कतिसम्म गैरजिम्मेवार छ भने अहिले मुद्दा फिर्तासम्बन्धी अध्यादेश ल्याएर सरकार बनाउन खोज्दैछ । सरकार बनाउन सिट नपुगेपछि रेशम चौधरी र सिके राउतलाई फकाउन अध्यादेश ल्याएर अपराधीलाई रिहा गर्ने, यस्तो पनि हुन्छ ? यो कुरा नेकपा एमालेलाई कुनैपनि हालतमा मान्य छैन । हामी आन्दोलन गर्छौँ । ’
कैलालीको टीकापुर घटनालाई राजनीतिकरुप दिएर के गर्न खोजेको हो ? यो विशुद्ध आपराधिक घटना हो । रेशम चौधरी लगायत सिके राउत, विप्लवका कार्यकर्तालाई हचुवाको भरमा रिहा गर्न नहुने झाको तर्क छ ।
झा भन्छन्, ‘चुनावमा एमालेलाई बहुमत नदिनु भनेको जनताले विकासको मुद्दा नरोजेको देखियो । यो देशमा विकास गर्ने पार्टी भनेको एमाले मात्र हो । गठबन्धन सरकारबाट आजित भएपछि जनताले एमालेलाई मत नदिएकोमा भूल महसुस गर्नेछन् ।’
नेकपा एमालेले परिवार दलसँग समानुपातिक निर्वाचन प्रणालीमा पनि तालमेल गरेकाले एकनाथ ढकाल सांसद बनेको झाको तर्क छ । जसपा अध्यक्ष उपेन्द्र यादव सत्ताबिना बस्नै नसक्ने भएकाले उनले एमालेसंग अब सहकार्य नगर्ने भनेर अभिव्यक्ति दिनु सामान्य विषय हो । भोलि एमालेको नेतृत्वमा सरकार बन्ने स्थिति आए उनी फेरि फर्केर आउँछन् ।
नेता झाले मुलुकको आवश्यकता बाम एकता भएकाले सबै बामशक्तिहरु एकजुट हुनुपर्ने धारणा राखे । एमाले बामहरु मध्येको सबैभन्दा ठूलो दल भएकाले यसको पहल पनि अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने उनको राय छ ।
विस्तृत भिडिओमा :