
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कैलाली टीकापुरको घटनामा अध्यादेश ल्याएर सरकारले अनावश्यक काम गरेकाे टिप्पणी गरेका छन् ।
अध्यादेशले मुलुकलाई अराजकताको बाटोमा लान सक्ने हुँदा आफूलाई सरकारकाे उक्त कदम मन नपरेकाे बताएका हुन् ।
दुई/दुई अदालतले अपराधी करार गरेको व्यक्ति छुटाउन आफ्नै सरकारले अध्यादेश ल्याउँदा कांग्रेसका उपसभापतिको धारणा के हो ? भन्ने हुलाक सञ्चारकाे प्रश्नमा उनले भने- सर्वाेच्च वा अन्य अदालतमा विचाराधीन रहेको मुद्दामा सरकारले हतार गर्नु हुँदैन । कुनै पनि आपराधिक मुद्दालाई राजनीतीकरण पनि गर्नु हुँदैन भन्ने मेरो मान्यता छ ।
जसरी घटनाक्रम विकास भएको छ हुन त यसलाई राजनीतिक लेपन लगाइएको छ । जघन्य अपराध गरेकासमेत यो अध्यादेशबाट छुट्न सक्ने हुँदा सिंगो नेपाली राजनीति अपराधीकरणमा जान्छ कि भन्ने ठूलो त्रासदी छ । यस्ता गम्भीर प्रकृतिका विषयमा अध्यादेश ल्याएर निर्णय गराउनु अनुपयुक्त हो । याे गलत हो, भन्ने मेरो धारणा हो । सरकार निर्माणको सौदाबाजीमा अध्यादेश ल्याइएको भने यो झनै गलत हो ।