अब अमेरिकाकाे सरकारी डिभाइसमा टिकटक नचल्ने !

काठमाडाैं । अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।

बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको समाचार पत्र द गार्डियनले उल्लेख गरेकाे छ ।

उक्त प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख छ ।

राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ ।

चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको छ ।

अमेरिकी राज्यहरू नर्थ डाकोटा, इओवालगायतले यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् ।