तीन वर्ष अघिकाे भिडिओ भाइरल भएपछि साेविताले भनिन्- त्यतिबेला बुझाइ र अनुभव कम थियाे

काठमाडाैं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले तीन वर्षअघि आफूले अध्ययन र अनुभवको कमीले बलात्कारसम्बन्धी असंवेदनशील अभिव्यक्ति दिएको बताएकी छन् ।

यद्यपि, आफ्नो आशय यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने रहेको उनको दाबी छ ।

सोबिताले ३ वर्षअघि दिएको एक अन्तर्वार्तामा बलात्कारबारे अत्यन्तै हल्का टिप्पणी गरेको भन्दै अधिकारकर्मीले विरोध गरेका थिए ।

‘चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ । किनकि, अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिस्कृत भएको छ’, उनले ट्विटरमा लेखेकी छन्, ‘पीडित’ शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर ‘सर्वाइवर’ वा ‘प्रभावित’ शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।’

साेबिताले अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति आफूलाई पश्चाताप भएको पनि उल्लेख गरेकी छन् । ‘उदाहरण असंवेदनशील भयो भनेर यहाँहरूले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु’, उनले लेखेकी छन् ।

के भनेकी थिइन् तीन वर्षअघिकाे अन्तर्वार्तामा ?

उनले बलात्कृत हुनु र शरीरमा चोट लाग्नुको घटना तुलना गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘म आफ्नै उदाहरण दिन चाहन्छु, मलाई कसैले बलात्कार गर्‍यो, म पीडित महिला भएँ । अर्को सिनारियो- कोही मान्छेले आएर मेरा दुइटै खुट्टा काटिदियो । अब तपाईं यी दुइटा इन्सिडेन्टलाई कम्पेयर गरेर हेर्नुस्, म बलात्कृत महिला धेरै विचरा भएँ वा खुट्टा काटिएकी महिला विचार भएँ ? यसरी हेर्दा खुट्टा काटिएको घटनाचाहिँ जघन्य अपराध हो नि त । खुट्टै काटिदिएपछि अब म के गर्ने ? बलात्कृत भएर पुनर्स्थापना हुन कुनै गाह्रो छैन ।’

अहिले सांसद चुनिएकी साेविताको यो पुरानो अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।

उक्त भनाइप्रति अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘बलात्कार सामान्य हो तर खुट्टा काटिनु ठूलै रहेछ ! बलात्कृतको शरीर सद्दे हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सांसद केही दिनमा संसद् प्रवेश गर्दैछिन् । सोच्नुस् कस्तो भविष्य हुनेछ बालिकाको ? न्यायको माग गर्नु डलर ल्याउनु रहेछ । उहाँको सोच यस्तो छ भने के आशा गर्ने ?’