प्रधानमन्त्री देउवाले बोलाए कांग्रेसका नवनिर्वाचित सां‌सदको भेला

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाइ तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरूलाई आमन्त्रण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर संघीय संसदको सबैभन्दा ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।

निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरू भएको छ ।