फिफा विश्वकपको फाइनल खेल आज, अर्जेन्टिना र फ्रान्समा कसले मार्ला बाजी ?

काठमाडाैं । कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आइतबार हुनेछ । राति ८ : ४५ बजे हुने खेलमा जितको दावेदारमा अर्जेन्टिना र फ्रान्स दुवै देखिएका छन् ।

उपाधि जित्नेगरी दुवै टिमले आफूलाई तयारी अवस्थामा राखेका छन् । यसअघिका दुवै विश्वकप विजेता टिमको प्रतिस्पर्धा हेर्न लायक हुने अपेक्षा गरिएकाे छ ।

आजको फाइनल खेल पोल्याण्डका रेफ्री साइमन मर्चिनियाकले खेलाउने छन् । ४१ वर्षीय साइमनले सन् २०१८ को रसिया विश्वकपमा डेव्यू गरेका थिए ।

फाइनल खेल अल दायनस्थित लुसैल स्टेडियममा हुनेछ । दुई प्रमुख देशको आजको खेल रोमाञ्जक हुने भन्दै विश्वभरबाट करोडौं दर्शकले चासोसाथ प्रतिक्षा गरेका छन् ।

अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो ।

सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बन्यो । अर्जेन्टिना समग्रमा छैटौँ पटक विश्वकपको फाइनल खेल्दै छ ।

यता सन् १९९८ मा पहिलो पटक फाइनल पुग्ने क्रममै विश्व विजेता बनेको फ्रान्स २००६ को संस्करणमा पनि उपाधि नजिक पुगेको थियो तर फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएकाे थियाे ।

सन् २०१८ मा फ्रान्सले उपाधि जित्दा एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए । यसपटक क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न चुकेका उनी गोल्डेन बुटको पनि दौडमा छन् । संयोग के छ भने मेस्सी र एमबाप्पे दुवै व्यावसायिक फुटबल एउटै क्लबबाट खेल्दै आएका छन् ।