राप्रपाका पशुपति शम्शेरले लिए राष्ट्रपतिबाट शपथ

काठमाडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् ।

आज शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले राणालाई सपथ खुवाएकी हुन् ।

आज आफूले शपथ लिएपछि ज्येष्ठ सदस्य राणाले भोलि प्रतिनिधिसभाका २७५ सांसदलाई सपथ गराउने छन् ।

निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा माओवादीबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख थियो ।

तर, उनले आफ्नो बास्तविक उमेरभन्दा नागरिकताको उमेर धेरै भएको भन्दै सपथ नलिने जानकारी गराएपछि आयोगले ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यका रुपमा संसद् सचिवालयमा नाम पठाएको थियो । सोही नाम सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि आज शपथ भएको हो ।

संसद सचिवालयले भोलि प्रतिनिधिसभा सदस्यहरूको सपथ हुने सूचना जारी गरेको छ ।