कम्बोडिया आगलागीकाे घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, पाण्डेकाे शव ल्याउन पहल गरिने

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेसहित १९ जनाको निधन भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने पनि बताएका छन् ।

यतिबेला सामाजिक सञ्जालमा निराकार पाण्डेको अन्तिम भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा आफ्ना ९ वर्षिय छोराका लागि उनले सन्देश छोडेका छन् ।

४० वर्षीय निराकारकाे छोराका लागि दिएकाे मार्मिक सन्देशले धेरैलाई यति बेला स्तब्ध बनाएको छ ।

एक महिना अघि व्यवसायका क्रममा भिजिट भिसामा कम्बोडिया गएका पाण्डे ग्राण्ड डायमन्ड सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा बसेका थिए ।

अंग्रेजी नयाँ वर्ष परिवारसँग मनाउनका लागि उनी नेपाल फर्किँदै थिए । तर अचानक राती आगो लागेको खबर पाएपछि बाहिर निस्कन खोजेका पाण्डे निस्कन सकेनन् । पछि उनले १२ तलाबाट हाम्फाले र उनको मृत्यु भयो ।