
काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गरेकाे कामकाे तारिफ गर्न कन्जुस्याइँ गरेपनि खबरदारी दिल खाेलेर गर्न आह्वान गरेका छन् ।
उनले अब भेटघाट, फूलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नुपर्ने बेला आएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्,’ अब भेटघाट, फूलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नुपर्ने बेला आएको छ । हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन । हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’
यसका साथै आफूले इमानदारिता कहिल्यै नगुमाउने प्रतिज्ञा पनि उनले गरेका गरेका छन् ।
‘बाल्यकालदेखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतिज्ञा गरेको एउटै चिज इमानदारी हो । सम्पूर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरूका लागि यहीँबाट धन्यवाद टक्र्याएको छु’ उनले भनेका छन्।
उनले यदि आफूहरूको काम चित्त नबुझे खबरदारी गर्न समेत आग्रह गरेका छन् ।
‘हामी हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौँ । हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला । जीवनमा आलोचक साथीहरू छन् र त सुखद् यात्राहरू सम्भव भए । अबको यात्रामा पनि यसैगरी सघाउनु होला’, उनले भनेका छन् ।