काठमाडौं । पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध भएपछि आफू गाैरवान्वित भएकाे प्रतिक्रिया दिएका छन् ।
मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताए ।
उनले साउदी अरबको फुटबल क्लब अल–नस्रसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् । यो सम्झौतासँगै उनी सन् २०२५ सम्म अल–नस्र क्लबमा रहनेछन् ।
पत्रकार सम्मेलनमा उनले युरोपबाट खेल्दा धेरै चिज पाइसकेको भन्दै अब नयाँ चुनौतीलाई पनि सामना गर्ने बताए । उनले भने, ‘जीवनमा यति ठूलो निर्णय लिँदा मलाई गर्व छ । युरोपमा मेरो काम अब सकिएको छ । मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो ।’
अल–नस्रले साउदी अरब फुटबलको मात्र नभइ देशकै धारणा बदल्नेसमेत उनले बताए ।
साउदी अरबको क्लबमा आबद्ध हुनुअघि आफूले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका आकर्षक अफरलाई पनि स्वीकार नगरेको उनले बताए । उनले भने, ‘किनकि म साउदी फुटबललाई योगदान गर्न चाहन्थेँ ।’
रोनाल्डोलाई रियादमा अल–नस्र क्लबका अध्यक्ष मुसली अल मुआम्मरले स्वागत गरेका थिए ।