संसदमा प्रचण्डकाे लिखित भाषण : समस्या केलाएर बस्ने छैनाैँ, समाधानकाे सूत्र खाेज्ने छाैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाकाे पहिलाे बैठकमा लिखित भाषण गरेका छन् । मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताए ।

उनले भने, ‘हामी सुशासन दिन सक्छौँ या सक्दैनौँ । जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ या सक्दैनौँ । यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो ।’

उनले विविधताको फुलवारी जस्तो संसद रहेको भन्दै त्यसमा गर्व गर्न आग्रह पनि गरे ।

प्रतिनिधिसभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधता भएकाहरुले प्रतिनिधित्व गर्ने भएकोले राष्ट्रको सच्चा प्रतिनिधित्व रहेको उनकाे भनाइ थियाे ।

उनले आफू जनताकाे निगरानीमा रहेकाे पनि बताए । उनले भने, ‘जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।’

हजारौं शहीद, वेपत्ता, जेलनेल सहेका र घाइते अपांग नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट समावेशी संसद बन्न सफल भएकोतर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद बनेको खुसी व्यक्त गरे ।

उनले भने, ‘विविधतामा एकता नै हाम्रो शक्ति हो । बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधामिक र बहुभौगौलिक विशेषता भएको यो देशमा विविधताका सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा गर्‍याैँ भने विभाजनतिर जान्छौँ ।’

फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भएपनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकोले सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जाेड दिए । ‘मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौँ ।’ उनले भने, ‘भर्खर हामी जनताका बीचबाट आएका हौं । हामीलाई समस्याहरु केलाएर बस्ने छूट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर जानु छ ।’

सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै उनले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनाका ठाउँमा आशा र उत्साह जगाउनु पर्ने बताए । ‘राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिमा केन्द्रित गर्नु छ । विभेद र बहिस्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ ।’ उनले भने, ‘आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ ।’

व्यवस्थापकीय संसद सार्थक संवादको थलो बन्नेमा आशा व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले सहमति र मतभेदहरु पनि मर्यादापूर्ण हुने विश्वास व्यक्त गरे । ‘कम्तीमा मेरो प्रयास र अपेक्षा यही हुनेछ ।’ अन्तिममा उनले भने, ‘यो सम्मानित र सार्वभौम संसद नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ भन्ने विश्वासका साथ सबै माननीय सदस्यहरुलाई फेरि एकपटक बधाई दिँदै बिदा हुन्छु ।’