भारतीय दूतावास र त्रिविले मनायो काठमाडौंमा विश्व हिन्दी दिवस

काठमाडौं । भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिन्दी विभागले काठमाडौंमा विश्व हिन्दी दिवस मनाएको छ ।

मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा त्रिवि हिन्दी विभाग प्रमुख डा. सञ्जिता वर्मा र भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवको प्रतिनिधित्व रहेको थियो ।

श्रीवास्तवले कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश बाचन गरेका थिए । उक्त सन्देशमा भारतीय प्रधामन्त्री मोदीले यस दिवसमा हाम्रो भाषा र पहिचानको याद दिलाउने अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

उक्त सन्देशमा उनले नेपालका सबै हिन्दी भाषाप्रेमी, विद्वान साहित्यकारप्रति आभार प्रकट गरेका छन्, जसले हिन्दी भाषाको माध्यमबाट नेपाल भारतको सम्बन्ध मजबुत बनाउन योगदान दिएका छन् ।

यसैगरी, कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष मंगलप्रसाद गुप्ताले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन हिन्दी भाषाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा भारतका प्रख्यात भाषाविद् डा. विमलेश कान्ति वर्मा, नेपालका वरिष्ठ हिन्दी लेखक तथा विद्वान गंगाप्रसाद अकेला र डा. रामदयाल राकेश विशेष अतिथि रहेका थिए ।

डा. विमलेश कान्ति वर्माले आफ्नो सम्बोधनमा हिन्दी भाषाको अनुसन्धान, इतिहास र अन्य भाषासँग यसको सम्बन्धको विषयमा आफ्नो अनुभव शेयर गरेका थिए ।

यसैगरी, कार्यक्रममा विभिन्न विद्यालयका छात्र÷छात्राले ‘आजादीको महोत्सव’ विषयमा कविता बाचन गरेका थिए । १० जनवरी १९७५ मा भारतको नागपुरमा पहिलोपटक ‘विश्व हिन्दी सम्मेलन’को आयोजना भएको थियो । त्यसपछि हरेक वर्ष जनवरी १० मा भारत र विश्वका धेरै देशहरूमा विश्व हिन्दी दिवस मनाइने गरिएको छ ।