उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : रास्वपालाई पुन: सरकारमा आउन आग्रह

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा आउन आग्रह गरिएको छ ।

बालुवाटारमा बसेको बैठकमा छलफलको एजेण्डा रास्वपालाई सरकारमा ल्याउने पनि रहेकाे छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ । बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता भने उपस्थित भएनन् ।

दुई महिना नपुग्दै रास्वपा बाहिरिनु, राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिनुजस्ता विषयमा गठबन्धनमा खटपट देखिएको छ ।

बैठकमा प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा पनि छलफल गरिने बताइएकाे थियाे ।