काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।
फागुन एक गते साेमबार उनी नेपाल आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।
दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो ।
भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने पनि जनाइएकाे छ ।
उक्त अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिनेछन् ।