काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले विशिष्ट व्यक्तिको सवारीहरुलाई सहज र जनतालाई अप्ठेरो नपर्ने गरी व्यवस्था गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदमा आउँदा भएको सवारी जामको विषयले सरकार, संसद र राष्ट्रपतिप्रति पनि नकारात्मक टिप्पणी भइरहेको बताए ।
राष्ट्रपतिको सवारीका क्रममा आफू एक घण्टा जाममा परेको र एम्बुलेन्स पनि जाममा परेको देखेको पन्तले बताए ।
‘एम्बुलेन्समा कस्तो विरामी थिए भन्ने मैले देख्न पाइनँ, थुप्रै मान्छे आक्रोशित थिए, सांसदहरुलाई पनि गाली गर्दैथिए, मैले लोगो छोप्नुपर्यो, मास्क लगाउनुपर्यो’ उनले भने ।
विशिष्ट व्यक्तिको सवारी चलाउने मापदण्ड लोकतन्त्रमा खुकुलो र सुरक्षाको दृष्टिले पनि उपयुक्त हुनुपर्ने उनकाे भनाइ छ ।
तर सुरक्षा निकायले जहिले आफू सुरक्षित हुने बाटो खोज्ने र केही भएमा कसले जिम्मा लिने भन्ने प्रश्न गरेर उम्किने गरेको पन्तले बताए । ‘लोकतन्त्रमा लोकको यो आवाजप्रति हाम्रो संयन्त्र संवेदनशील हुन सकेन’ उनले भने ।
यसअघिको राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपतिले पनि आफ्नो सवारी चलाउँदा नागरिकलाई दु:ख नदिनू भनेको भन्दै पन्तले भने, ‘सरकारले नगर्दा राष्ट्रपतिले गाली खानुपर्यो ।’