काठमाडाैं । बागमती प्रदेशले फागुन २ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार मंगलबारदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ ।
यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ ।
विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो । तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकिरकेको थिएन ।
प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशमा नयाँ व्यवस्था केही समय अघि नै लागू भइसकेको छ । बागमती प्रदेशमा पनि याे व्यवस्था लागू हुने भएको हो ।
यस्ताे छ ७० अंक प्रणाली :
ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणालीमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति-पत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।
बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायल भने फेल भइँदैन ।
यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुईं टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ।
यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।
ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालो (र्याप) को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।
यस्तै कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ । जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोए प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन ।
दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ ।
त्यसैगरी, यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ । अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपांग्रे सवारीचालकलाई र्याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ ।
तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।