भारतीय विदेश सचिव क्वात्राको नेपाल भ्रमणको अर्थ

काठमाडाैं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा नेपालको दुई दिने भ्रमण सकेर फर्किसकेका छन् । उनको उच्च राजनीतिक भेटवार्ताले भारत नेपालको आन्तरिक राजनीतिमा केही गर्न खोजिरहेको छ भन्ने प्रष्ट हुन्छ ।

प्रमुख दलका नेताहरु मात्र नभइ भारत निकट मानिने अन्य नेताहरुसँग पनि छुट्टाछुट्टै भेटेर क्वात्राले भारत विशेष तयारीमा रहेको प्रष्ट सन्देश छोडेका छन् ।

क्वात्राले पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरे । उनी नेपाली समकक्षी नेतृत्वको टोलीसँग द्विपक्षीय वार्तामा पनि सहभागी भए ।

दोस्रो दिन पनि उनी राजनीतिक भेटघाटमै व्यस्त रहे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूसँग उनले भेटघाट गरे ।

नेपालका लागि भारतीय राजदूत रहिसकेकाले भारतीय विदेश सचिव क्वात्राले नेपालका नेता र राजनीतिक दलहरूबारे राम्रो जानकारी राख्ने मानिन्छन् । कतिपय नेतासँग उनको एक्ला एक्लै छलफलमा भएका कुरा बाहिर आएका छैनन् ।

उनको नेपाल भ्रमण आन्तरिक राजनीतिबारे अनेक अनुमान भइरहेका बेला भएकाले थुप्रै आशंका उब्जिएका छन् । पुरानो सत्ता समीकरण फेरिएर अचानक नयाँ सत्ता गठबन्धन बनेको छ । उक्त नयाँ गठबन्धनको भविष्य अन्योलमा पारिदिने गरी राष्ट्रपतिको चुनाव हुन लागेको छ ।

पुरानो सत्ता समीकरण नफेरियोस् भन्ने भारतीय चाहना रहेको भन्ने समाचार र विश्लेषणहरू नभएका होइनन् । अहिलेको भ्रमणले त्यसको प्रष्ट जवाफ नदिए पनि अनेक अडकलबाजी भने हुन थालेका छन् ।

एमाले निकट नेताहरुले भने वर्तमान सरकारसँग पनि हामी उत्ति नै प्राथमिकताका साथ काम गर्न चाहन्छौँ भनेर भारतले आश्वस्त पार्न खोजेको रुपमा अर्थ्याइरहेका छन् ।

खास गरी दुई ठूला कम्युनिस्ट पार्टी सहितको सरकार बन्दा त्यसमा उत्तरी छिमेकीको भूमिकाबारे पनि समाचारहरू आएकाले त्यसबारे बुझ्ने मनसाय पनि हुनसक्ने उनीहरु बताउँछन् ।

माओवादी केन्द्र निकट नेताहरु भने क्वात्राको भ्रमणलाई नियमित प्रक्रियाको रूपमा व्याख्या गरिरहेका छन् । नेपालको रणनीतिक महत्व निकै बढेको देखिएका बेला भारतीय विदेश सचिवले प्रधानमन्त्री प्रचण्डसँग मिलेर अघि बढ्न चाहेको उनीहरु बताउँछन् ।

पुरानो सत्ता गठबन्धन भत्किएदेखि कांग्रेस नेताहरू राष्ट्रपतिको चुनावलाई लिएर नयाँ समीकरण भत्काउने प्रयासमा छन् । यसका लागि क्वात्राको समर्थन आफूहरुलाई रहने कांग्रेसको बुझाइ छ । यसैका लागि माहोल बनाउन क्वात्रा आएको उनीहरुको विश्लेषण छ ।

कतिपयले माओवादी केन्द्रको राष्ट्रिय सहमतिको प्रस्तावलाई एमालेबाट राष्ट्रपति हुन नदिने खेलका रुपमा समेत व्याख्या गरेका छन् । त्यसमा भारतीय रुचि पनि मिसिएको चर्चा चलेको छ ।

कतिपय विश्लेषकहरुले भारतलाई लामो समयदेखिको मित्र भन्ने र असाध्यै राष्ट्रवादी भन्नेहरुको हबिगत पनि देखिएकाले भारतको नेपाल नीति सोझो रेखामा अघि नबढेको बताउने गरेका छन् ।

क्वात्राले भेटवार्ता गरेका कतिपय नेताहरू भावी राष्ट्रपतिको उम्मेदवारको रूपमा पनि चर्चामा छन् । क्वात्राले उनीहरुको मनशाय बुझेर प्रतिबद्धता खोजेको पनि हुनसक्ने कतिपयको बुझाइ छ ।

नेपालको राजनीतिक समीकरणका मुख्य खेलाडीहरूको नाडी छाम्ने प्रयासको रूपमा भारतीय विदेश सचिव क्वात्राको भ्रमणलाई पनि कतिपयले ब्याख्या गरेका छन् ।

अमेरिकी अधिकारीहरूको लगातारको नेपाल आगमनपछि पछिल्लो घटनाक्रममा भारतीय विदेश सचिव विनय मोहन क्वात्राको भ्रमण भएको हो । यसले भारत र अमेरिकाको नेपाल चासो निकै गहिरो रहेको प्रष्ट पारेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१