नुवाकाेट बस दुर्घटना : तीन जनाकाे मृत्यु, २३ जना घाइते

नुवाकाेट । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बिहीवार बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा २३ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा तारकेश्वर गाउँपालिका–६ भमराका ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् ।

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाैं पठाइएको छ ।

विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंह जाँदै गरेको बा २ ख ८४५ नम्बरकाे बस विदुर–१२ चैनपुरकाे पिपलबोट भन्ने ठाउँमा दुर्घटना भएकाे हाे ।